आईपीएलमा गुजरातको दबदबा, राजस्थानमाथि फराकिलो जीत

कोल्हवी न्यूज
२०८३ बैशाख २७, आईतवार ०७:३३ गते

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले राजस्थान रोयल्समाथि शानदार जित दर्ता गरेको छ । जयपुरमा शनिबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७७ रनको फराकिलो अन्तरले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल तयार गरेको थियो । टोलीका कप्तान शुभमन गिलले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रन बनाएर जीतको आधार तयार पारे ।

२३० रनको कठिन लक्ष्य पछ्याएको राजस्थान रोयल्स १६ ओभर ३ बलमै १५२ रनमा अलआउट भयो । राजस्थानको इनिङ ध्वस्त पार्न राशिद खान र जोशन होल्डर निर्णायक बने । राशिदले ४ विकेट लिए भने होल्डरले ३ विकेट हात पारे ।

यस जितसँगै गुजरात टाईटन्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरातको ११ खेलबाट १४ अंक पुगेको छ । पराजित राजस्थान समान खेलबाट १२ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।

आईपीएलअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्ट्स दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन् । दोस्रो खेलमा बेलुकी पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*