‘क्यानभास’मा साइबर आक्रमण, विश्वभरका हजारौँ शैक्षिक संस्था प्रभावित

कोल्हवी न्यूज
२०८३ बैशाख २७, आईतवार ०७:३१ गते

काठमाडौँ । अमेरिका, क्यानडा र अष्ट्रेलियासहित विभिन्न देशका विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा भएको साइबर आक्रमणले शैक्षिक गतिविधि प्रभावित बनेको छ । परीक्षा, असाइनमेन्ट र अनलाइन कक्षामा समस्या उत्पन्न भएपछि हजारौँ विद्यार्थी र शिक्षक प्रभावित भएका छन् ।

बीबीसीका अनुसार ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मेवारी लिएको छ । साइबर हमलापछि केही समय क्यानभास प्रणाली पूर्ण रूपमा बन्द भएको थियो । विश्वभर झण्डै ९ हजार शैक्षिक संस्था प्रभावित भएको जनाइएको छ ।

विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमा फिरौती मागिएको सन्देश देखिएको बताइएको छ । ह्याकर समूहले क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’सँग पैसा नतिरे प्रयोगकर्ताको डाटा सार्वजनिक गर्ने चेतावनी दिएको थियो ।

साइबर आक्रमणका कारण अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ । पेन स्टेट, इडाहो स्टेट तथा क्यालिफोर्निया विश्वविद्यालयलगायत संस्थाले पनि परीक्षा र असाइनमेन्टमा समस्या आएको बताएका छन् ।

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न आग्रह गरेको छ भने क्यानडाका ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले साइबर सुरक्षासम्बन्धी जोखिमबारे चेतावनी दिएका छन् । विद्यार्थीहरूले परीक्षा र असाइनमेन्ट हराउने तथा व्यक्तिगत विवरण चुहिने चिन्ता व्यक्त गरेका छन् ।

क्यानभास सञ्चालन गर्ने कम्पनी इन्स्ट्रक्चरले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । तर केही विश्वविद्यालयमा समस्या अझै समाधान नभएको बताइएको छ ।

यस घटनापछि अमेरिकामा साइबर सुरक्षा प्रणाली सुदृढ बनाउन दबाब बढेको छ । अमेरिकी संसद्का शीर्ष नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को विस्तारसँगै बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै तत्काल प्रभावकारी सुरक्षा उपाय अपनाउन सरकारसँग माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*