“सर्लाहीमा ग्यास लिक भएर भीषण आगलागी, एक घर पूर्ण रूपमा नष्ट”
सर्लाहीको हरिवन नगरपालिका–१ स्थित बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीले एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार स्थानीय दिवस बम्जनको भान्साघरमा ग्यास चुहावट भएपछि आगो सल्किएको हो। आगलागी फैलिँदा घरभित्र रहेका कपडा, फर्निचर, गरगहना तथा अन्य सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
घटनापछि स्थानीयवासी, प्रहरी, नेपाली सेना र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। भैरवीदल गणको टोलीसमेत उद्धार तथा नियन्त्रण कार्यमा खटिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए।
आगलागीबाट ठूलो धनमालको क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि प्रभावित परिवार अस्थायी रूपमा छिमेकीको सहारामा बसिरहेको बताइएको छ।










