सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक फरार
सर्लाहीमा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–९ खिला नजिक आज बिहान भएको दुर्घटनामा महोत्तरीका ३६ वर्षीय श्याम ठाकुर (पप्पु) को ज्यान गएको हो।
प्रहरीका अनुसार ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतक ठाकुर महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारका निवासी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका–२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनापछि बस चालक बद्री मण्डल फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।











