बाराको सिम्रौनगढमा ७ किलो गाँजासहित एक पक्राउ
बाराको सिम्रौनगढ क्षेत्रमा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ गोलागंज निवासी करिब ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको नेतृत्वमा गएको टोलीले डोमको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरेको जनाएको छ।
निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। यसका लागि बारा जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











