एनभीए भलिबल लिगमा रुकुम पश्चिम र पुलिसको दबदबा, पुरुष–महिला दुवैमा उपाधि कब्जा

कोल्हवी न्यूज
२०८३ बैशाख २०, आईतवार ०७:२४ गते

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अन्तर्गत पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फ नेपाल पुलिस क्लब ले उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित कभर्डहल मा भएको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि हात पार्यो। प्रतिस्पर्धात्मक बनेको खेलमा रुकुमले २९–२७, २५–२१ र ३२–३० को सेट जित्दै आफ्नो दबदबा कायम गर्‍यो।

महिलातर्फ नेपाल पुलिस क्लब ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब लाई ३–१ को सेटमा हराउँदै चौथोपटक च्याम्पियन बन्न सफल भयो। पुलिसले पहिलो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दा न्यु डायमन्डले दोस्रो सेट जितेको थियो।

उपाधिसँगै दुवै विजेताले १०–१० लाख रुपैयाँ प्राप्त गरे भने उपविजेता टोलीहरूले ५–५ लाखमा चित्त बुझाए। प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी थिए।

अब पुरुष विजेता रुकुम पश्चिम तथा महिला विजेता पुलिसले काभा क्लब च्याम्पियनसिप मा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिता नेपाल भलिबल संघ को आयोजनामा वैशाख १० गतेदेखि सञ्चालन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*