एक महिनामा मधेश प्रदेशबाट ५० बिचौलिया पक्राउ
नेपाल प्रहरीले सेवाग्राहीलाई प्रलोभनमा पारेर दुःख दिने बिचौलियामाथि देशव्यापी अभियान चलाउँदै गएको एक महिनामा ४ सय १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाबाट १२३ जना रहेका छन्। त्यस्तै मधेश प्रदेशबाट ५०, बागमतीबाट ७६, कोशीबाट ४५, लुम्बिनीबाट ४४, सुदूरपश्चिमबाट २८, गण्डकीबाट २७ र कर्णालीबाट २४ जना पक्राउ परेका छन्।
पक्राउमध्ये १ सय २१ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ भने बाँकी २ सय ९६ जनालाई आवश्यक सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ।
सेवाप्रवाहलाई नागरिकमैत्री, पारदर्शी र बिचौलियामुक्त बनाउने लक्ष्यसहित प्रहरीले देशभरका सरकारी कार्यालयहरूमा निगरानी कडा पार्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने अभियान तीव्र बनाएको जनाएको छ।










