सर्लाहीमा अवैध गर्भपतन क्लिनिकमा छापा, सञ्चालक पक्राउ

कोल्हवी न्यूज
२०८३ बैशाख १७, बिहीबार १६:२९ गते

सर्लाही — लालबन्दी नगरपालिका–२ नवलपुर जुटपानी क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको गर्भपतन क्लिनिकमा प्रहरीले छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ४५ वर्षीय लालबाबु राय यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। अनुमति बिना स्वास्थ्य सेवा सञ्चालन भइरहेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिए।

अनुगमनका क्रममा गर्भपतनमा प्रयोग हुने औषधि र उपकरण बरामद गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताएका छन्। उक्त क्लिनिक कुनै दर्ता वा संकेत बोर्डबिना सञ्चालन भइरहेको पाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको टोलीले निरीक्षणपछि क्लिनिक सिल गरेको छ।

यसैबीच प्रशासनले नवलपुर र मलङ्गवा क्षेत्रमा स्वास्थ्य संस्थामाथि निगरानी बढाएको जनाएको छ। हालै गरिएको अनुगमनमा १३ वटा स्वास्थ्य संस्था तथा औषधि पसल जाँच गर्दा ५ वटा सिल गरिएको, एउटा संस्थालाई जरिवाना गरिएको र दुई संस्थालाई कागजात पूरा गर्न सात दिनको समय दिइएको छ।

अवैध रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्नेहरूमाथि कडा कारबाही जारी रहने प्रशासनले चेतावनी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*