एक दशकमा १,५१९ हावाहुरी: १०१ को मृत्यु, जलवायु परिवर्तनको असर बढ्दो
काठमाडौं — पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेखनीय रूपमा बढेको देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार २०७३ वैशाख १ देखि २०८२ माघ २५ सम्मको अवधिमा एक हजार ५१९ वटा हावाहुरीका घटना दर्ता भएका छन्।
यी घटनामा परी १०१ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्। त्यस्तै, एक हजार ५७२ जना घाइते भएका छन् भने आठ हजार ५०४ परिवार प्रभावित बनेका छन्। हावाहुरीले मानवीय क्षतिसँगै ठूलो परिमाणमा भौतिक क्षति पनि पुर्याउँदै आएको छ, जसको आर्थिक मूल्य करिब ५३ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ।
विशेषगरी तराई र मध्य पहाडी क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिएको विज्ञहरूको भनाइ छ। सोही अवधिमा भारी वर्षाबाट ११० र हिउँ–हुरीका कारण १७ जनाले ज्यान गुमाएको पनि प्राधिकरणले जनाएको छ।
चालु वैशाख १ देखि १६ गतेसम्म मात्र देशभर विभिन्न प्राकृतिक विपद्का ६१६ घटना घटिसकेका छन्। ती घटनामा ३४ जनाको मृत्यु र १३९ जना घाइते भएका छन्। यस अवधिमा हावाहुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित बनाउँदै करिब ८३ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
जलवायुविद् डा. मनिष पाण्डेका अनुसार जलवायु परिवर्तनका कारण हावाहुरीको स्वरूप र तीव्रता दुवैमा परिवर्तन देखिँदै गएको छ। उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी पूर्वसूचना प्रणाली र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।









