पथलैया–वीरगन्ज सडकमा दुर्घटना: एकको मृत्यु, श्रीमती गम्भीर
बारा — पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत डाबर नेपाल अगाडि बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरीका अनुसार वीरगन्जबाट नारायणघाटतर्फ गइरहेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुर निवासी ४० वर्षीय राम चमार र पछाडि सवार उनकी ३५ वर्षीया पत्नी जानकी देवी गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी वीरगन्जस्थित गण्डक अस्पताल लगिएकोमा उपचारका क्रममा राम चमारको ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते जानकी देवीको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।









