नयाँ वर्षको पहिलो १३ दिनमै ४४५ विपद् घटना: २३ जनाको मृत्यु, आगलागी सबैभन्दा ठूलो जोखिम

कोल्हवी न्यूज
२०८३ बैशाख १३, आईतवार ०१:०९ गते

नयाँ वर्ष २०८३ सुरु भएको दुई हप्ता नपुग्दै देशभर विपद्का घटनामा तीव्र वृद्धि देखिएको छ। वैशाख १ देखि १३ गतेसम्म मात्रै ४४५ वटा घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन् भने ८५ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा आगलागी सबैभन्दा ठूलो चुनौती बनेको छ। २२२ आगलागीका घटनाले ७ जनाको ज्यान लिएको छ भने २४ जना घाइते भएका छन्। यसबाट २६२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सुख्खा मौसम, बढ्दो गर्मी र मानवीय लापरबाहीलाई यसको मुख्य कारण मानिएको छ।

वन क्षेत्रमा पनि जोखिम बढ्दो छ। ११५ वटा डढेलोका घटनाले वातावरणमा गम्भीर असर पार्नुका साथै १ जनाको मृत्यु र १ जना घाइते भएका छन्।

यसबीच हावाहुरीका कारण ९४ परिवार प्रभावित भएका छन्, विशेषगरी तराई–मधेश र पहाडी जिल्लामा घर तथा बालीमा क्षति पुगेको छ।

चट्याङका २२ घटनामा ४ जनाको मृत्यु र १६ जना घाइते भएका छन् भने सर्पदंशका २३ घटनाले १ जनाको ज्यान लिएको र २२ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमण पनि चिन्ताजनक देखिएको छ, जहाँ १६ घटनामा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन्।

अन्य घटनामा लेक लागेर २ जनाको मृत्यु, डुङ्गा दुर्घटनामा २ जनाको ज्यान गएको तथा पहिरोका ४ घटनामा १ जनाको मृत्यु भएको छ।

प्रि–मनसुन सक्रिय भएसँगै अब भारी वर्षा, बाढी र डुबानको जोखिम पनि देखिन थालेको प्राधिकरणले जनाएको छ। यद्यपि हालसम्म त्यस्ता घटनाबाट मानवीय क्षति भने भएको छैन।

प्राधिकरणले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै आगलागी नियन्त्रण, चट्याङबाट जोगिने उपाय, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्ने र सर्पदंशबाट बच्न सतर्क रहन सुझाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*