युवा नेता चौरसियाद्वारा सानो झौवाको ३० वटा पोलमा बत्ती जडान
नेपाल सुशासन अभियानका मधुसुदन चौरसियाले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ सानो झौवाको सडकमा लगाइएका पोलमा बल्ब जडान गरेका छन् ।
यसअघि गाउँपालिकाले जडान गरेका बल्बहरु नबलेर गाउँ मात्रै नभएर पुरा गाउँपालिका नै अन्धकारमय बनेको अवस्थामा युवा नेता चौरसियाले आफ्नै व्यक्तिगत खर्चमा बल्ब जडान गरेका हुन् । सानो झौवा निवासी अजय दासले टोलमा राति बल्ब नहुँदा अँध्यारोमा आवतजावत गर्न असहज भएको युवा नेता चौरसियासामु दुखेसो पोखेका थिए ।
पूरा गाउँपालिका भित्रका पोलहरुमा जडान गरिएको बल्ब देखाउनका लागि मात्रै लगाएको हुँदा उँज्यालो बनाउनका लागि गाउँपालिका अध्यक्षसहितका जनप्रतिनीधिहरुले कुनै पहल नगरेको स्थानीय दासको आरोप छ । सबै गाउँपालिकामा बत्ती जडान गर्न नसकेपछि आफुलाई दुखेसो पोख्नेहरुको टोललाई उँज्यालो बनाउनका लागि व्यक्तिगत खर्चमा ३० वटा पोलमा बल्ब लगाएको चौरसियाले बताए ।
आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहेका चौरसियाले आफ्नो क्षमताले भ्याएसम्म विकास निर्माणका काम र जनताका गुनासोलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।










