स्थानीय चुनाव नजिकिँदै:जनप्रतिनिधिमाथि बढ्दो ‘मिडिया ट्रायल’ को बहस
अशेष ढुंगाना
कोल्हवी,बारा—स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनप्रतिनिधिमाथि लक्षित ‘मिडिया ट्रायल’ को प्रवृत्ति बढ्दै गएको देखिएको छ। सामाजिक सञ्जाल,अनलाइन पोर्टल तथा केही मुख्यधाराका मिडियामार्फत प्रमाणित नभएका आरोप,अधुरा तथ्य र एकपक्षीय सामग्री सार्वजनिक हुँदा जनप्रतिनिधिहरूको छवि प्रभावित हुने गरेको सरोकारवालाहरू बताउँछन्।
विशेषगरी चुनावी माहोल आउना महिनौ बाकी रहदा विभिन्न दलसम्बद्ध समर्थक तथा स्वार्थ समूहहरूले आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर पार्ने उद्देश्यले मिडियाको प्रयोग गरिरहेको आरोप छ। कतिपय सामग्रीमा आधिकारिक स्रोत, प्रमाण र सन्तुलित दृष्टिकोणको अभाव देखिएको भन्दै सञ्चार विज्ञहरूले यसलाई ‘मिडिया ट्रायल’ को रूप मान्न थालेका छन्।
स्थानीय तहका एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा भने, “हामीमाथि लागेका आरोपहरूको तथ्यपरक जाँच नगरी सार्वजनिक गरिन्छ। यसले व्यक्तिगत प्रतिष्ठा मात्र होइन, समग्र संस्थागत विश्वसनीयतामा पनि असर पार्छ।”
यता,पत्रकारिता क्षेत्रका अगुवाहरूले भने निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएका छन्। उनीहरूका अनुसार, मिडियाको प्रमुख दायित्व सत्य, सन्तुलित र प्रमाणित सूचना प्रवाह गर्नु हो,नकि कसैलाई पूर्वाग्रही ढंगले दोषी ठहर गर्नु। “चुनावको बेला सूचनाको दुरुपयोग हुन सक्ने जोखिम बढी हुन्छ, त्यसैले मिडिया झनै सतर्क हुनुपर्छ,” एक सञ्चार विज्ञले बताए।
कानुनी दृष्टिकोणबाट हेर्दा पनि कसैमाथि प्रमाणविनाको आरोप सार्वजनिक गर्नु मानहानि सम्बन्धी मुद्दा बन्न सक्ने कानुनविद्हरू बताउँछन्। यसले मिडियामाथि नै कानुनी चुनौती निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरूले पनि यस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्। “हामीलाई सत्य के हो भन्ने छुट्याउनै गाह्रो हुन्छ। मिडियाले निष्पक्ष जानकारी दिनुपर्छ,” एक स्थानीयले भने।
चुनावको समयमा सूचना नै मतदाताको निर्णयको आधार बन्ने भएकाले मिडियाको भूमिकालाई अझ संवेदनशील रूपमा लिनुपर्ने सरोकारवालाहरूको जोड छ। निष्पक्षता,तथ्यपरकता र जिम्मेवारीलाई केन्द्रमा राख्दै पत्रकारिता गरिएमा मात्र लोकतान्त्रिक प्रक्रियामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।









