मकवानपुरमा बकैया खोलामा डुबेर एक व्यक्तिको मृत्यु
मकवानपुरको बकैया खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। घटनामा अन्दाजी ३५ वर्षीय लाक्पा भोलनको मृत्यु भएको हो। प्रहरीका अनुसार, बकैया गाउँपालिका–८ र ३ को सिमानामा पर्ने बकैया खोलामा हिजो वैशाख ७ गते दिउँसो करिब १:५० बजे लाक्पा भोलन डुबेका थिए।
प्रारम्भिक विवरण अनुसार, लाक्पा भोलन आफ्नी १० वर्षीया भतिजीसँग खोलामा गएका थिए। भतिजीलाई किनारमा राखेर लाक्पा पौडी खेल्न खोलामा पसेका थिए, र सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेको थियो। केही समयपछि लाक्पा भोलनको शव खोलाबाट निकालिएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










