दिल्ली तस्करीको योजना विफल:४ किलो अफिमबोकेका नेपालीसहित २ पक्राउ,सीमाबाट १५ गाईगोरु बरामद
सन्जय मिश्रा:रौतहट,बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करी र पशु ओसारपसारविरुद्ध सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीको सक्रियता बढेसँगै ठूला सफलता हात लागेका छन्।
पछिल्लो कारबाहीमा ४ किलो अफिमबोकेका एक नेपाली नागरिकसहित दुई जना पक्राउ परेका छन् भने छुट्टै अपरेशनमा १५ वटा गाईगोरु पनि नियन्त्रणमा लिइएको छ।
एसएसबीको ७१औँ बटालियनबाट प्राप्त गोप्य सूचनाका आधारमा गरिएको संयुक्त कारबाहीमा बिहार प्रहरीसँग मिलेर दुई जनालाई अफिमसहित पक्राउ गरिएको हो।पक्राउ पर्नेमा पर्सा निवासी ५७ वर्षीय चन्देश्वर महतो कोइरी र भारत,पश्चिम चम्पारणका ६६ वर्षीय झग्गु महतो रहेको एसएसबी मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले बताएका छन।
उनीहरूको शरीर तलासीका क्रममा ४ वटा प्याकेटमा लुकाइ राखिएको करिब ४ किलोग्राम अफिम बरामद गरिएको तिवारीले जानकारी दिएका छन।साथै उनीहरूबाट ३ थान मोबाइल फोनसमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध मोतीहारीबाट दिल्ली पुर्याउने योजना रहेको खुलासा भएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि बिहार प्रहरीको पिपरा कोठी चौकीमा बुझाइएको छ।यसैबीच, अर्को अपरेशनमा एसएसबीकै टोलीले बिहान करिब २ बजे सीमाक्षेत्रबाट १५ वटा गाईगोरु नियन्त्रणमा लिएको छ।
बारासँग जोडिएको सीमास्थल नजिक इनरवा(लरहटोला)क्षेत्रमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेका ५ वटा गाई र १० वटा बाछो बरामद गरिएको एसएसबी प्रवक्ता बिनित कुमार सिहले बताएका छन ।
बरामद गरिएका पशुहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आदापुर प्रहरी कार्यालयमा बुझाइने जनाइएको छ।सीमाक्षेत्रमा पछिल्लो समय लागूऔषध तस्करी र अवैध पशु ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता अझ कडा बनाइएको छ, जसले यस्ता अवैध गतिविधिमा संलग्न समूहहरूलाई निरन्तर चुनौती दिइरहेको छ।








