नयाँ वर्षमा ‘पहाड’को उत्साहजनक सुरुआत, दर्शकबाट सकारात्मक प्रतिक्रिया
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले सुरुवाती दिनमै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मप्रति दर्शकको आकर्षण उल्लेखनीय देखिएको छ।
प्रदर्शनको पहिलो दिन नै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष संवादमा जुट्यो। निर्देशक तुलसी घिमिरेसँगै कलाकारहरू विपिन कार्की, अरुण क्षेत्री, रेनुनाथ योगी तथा नवअभिनेत्री पञ्चमी घिमिरेले दर्शकसँग साक्षात्कार गरेका थिए।
करिब नौ वर्षपछि निर्देशनमा फर्किएका घिमिरेले दर्शक प्रतिक्रियाले आफूलाई थप ऊर्जा दिएको बताए। उनका अनुसार फिल्मले उठाएका विषय दर्शकले आत्मसात गरेका छन् र धेरैले कथालाई आफ्नै जीवनसँग जोडेर हेरेका छन्।
हल भ्रमणका क्रममा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको भन्दै उनले यसलाई ठूलो उपलब्धि माने। परिवारसहित फिल्म हेर्न आएका दर्शक सन्तुष्ट देखिनु फिल्मको सफलताको संकेत भएको उनको भनाइ छ।
फिल्मले बेरोजगारी, गाउँ खाली हुँदै जानु र पानी अभावजस्ता समसामयिक विषयलाई उठाएको छ। अभिनेता विपिन कार्कीले पनि यिनै विषयले दर्शकलाई हलसम्म तानेको बताए। सकारात्मक प्रतिक्रिया देखिएकाले आगामी दिनमा दर्शक संख्या अझ बढ्नेमा उनी विश्वस्त छन्।
पहिलो दिनमै धेरै शो हाउसफुल भएपछि अभिनेता अरुण क्षेत्री पनि उत्साहित छन्। उनका अनुसार दर्शकले फिल्मको कथा र प्रस्तुतीलाई मन पराएका छन् र अरूलाई पनि सिफारिस गरिरहेका छन्।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहेको छ। विशेषतः पञ्चमी घिमिरेले आफ्नो पहिलो फिल्मबाटै दर्शकको मन जितेकी छन्।
‘पहाड’ले विदेश पलायनका कारण रित्तिँदै गएका गाउँ र त्यसले ल्याएको सामाजिक–आर्थिक असरलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको हो भने संगीत रञ्जित सिंह गजमेरको रहेको छ।
निर्माण टिमले आगामी दिनमा पनि विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिने जनाएको छ।








