वीरगञ्जमा बागमतीको प्रभावशाली जित — मधेस ३५ रनले पराजित
वीरगञ्जमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ३५ रनले हराउँदै महत्वपूर्ण जीत दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको बागमतीले मध्यम प्रदर्शन गर्दै ४८.४ ओभरमा २०८ रन बनायो। टोलीका लागि उत्तम मगरले ४४ रन जोड्दा कप्तान सन्दीप लामिछानेले ३६ रन बनाए। रिङझिङ लामाले पनि २९ रनको योगदान दिए।
२०९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश सुरुदेखि नै दबाबमा देखियो। नियमित अन्तरालमा विकेट गुमाउँदै ३४.३ ओभरमा १७३ रनमै समेटियो। मयन यादवले ४० रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। अन्य खेलाडीमध्ये आदिल आलम (२७), अनिल साह (२६) र विशाल सुस्लिङ (२१) ले सामान्य योगदान दिए।
बलिङतर्फ बागमतीका प्रतिश जिसी नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई रिजन ढकालले दुई विकेट लिएर साथ दिए भने सन्दीप लामिछाने र सुवास खत्रीले एक–एक विकेट लिए।
मधेसका लागि पवन सर्राफले तीन विकेट लिए पनि त्यो पर्याप्त हुन सकेन।
यस जितसँगै बागमती प्रदेश अंकतालिकामा सुधार गर्दै पाँचौँ स्थानमा पुगेको छ भने मधेस प्रदेश चौथो स्थानमै कायम रहेको छ।








