गायक रामकृष्ण ढकाल को फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकाल ले निर्माण गरेको पहिलो फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। करिब डेढ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, भावनात्मक द्वन्द्व र सम्बन्धको जटिलतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
टिजरमा विजय बराल र वर्षा राउत को प्रेमदेखि विवाहसम्मको यात्रा देखाइएको छ। सुरुवातमा रोमान्टिक देखिएको सम्बन्ध विवाहपछि शंका र अविश्वासका कारण संकटतर्फ उन्मुख भएको संकेत टिजरले दिएको छ। अन्त्यमा पुनः उनीहरूबीचको भावनात्मक र रोमान्टिक क्षण प्रस्तुत गरिएको छ, जसले कथामा मोड आउने संकेत गर्छ।
प्रकु पाण्डेय को निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासँगै मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा तथा प्रस्तुतीकरणले वैवाहिक सम्बन्धमा आउने उतारचढाव र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेको देखिन्छ।
बैशाख २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मालती मंगले’को पटकथा तथा संवाद संयोग गुरागाईँ ले तयार पारेका हुन्। फिल्मको छायांकन महेश पौडेलले गरेका छन् भने सम्पादन रोमी मोजेजले गरेका छन्।









