पूर्वमिस नेपालको उजुरीपछि पूर्वपति पक्राउ : घरेलु हिंसा र दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु

कोल्हवी न्यूज
२०८२ चैत्र २४, मंगलवार १८:३२ गते

पूर्वमिस नेपाल उषा खड्की ले दिएको उजुरीपछि उनका पूर्वपति जीपी तिमल्सिना लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उषाले भक्तपुर प्रहरी परिसरमा अभद्र व्यवहार तथा घरेलु हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि प्रहरीले मंगलबार बिहान तिमल्सिनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ।

यसअघि उषाले चैत १७ गते सामाजिक सञ्जालमार्फत आफू असुरक्षित महसुस गरिरहेको बताउँदै सार्वजनिक रूपमा न्यायको माग गरेकी थिइन्।

दुवैबीचको वैवाहिक सम्बन्ध २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालत को आदेशबाट अन्त्य भइसकेको थियो। तर सम्बन्धविच्छेदपछि पनि उनीहरू काठमाडौंको लोकन्थलीस्थित एउटै घरमा बस्दै आएको तथ्य सार्वजनिक भएको छ।

उषा आफ्नो हिस्सामा बस्दै आएकी छन् भने सोही घरको माथिल्लो तलामा तिमल्सिना आफ्नी दोस्रो पत्नीसँग बस्दै आएको बताइएको छ। घरको स्वामित्व र बसोबासकै विषयलाई लिएर आफूले पटक–पटक मानसिक तनाव र दुर्व्यवहार भोग्नुपरेको उषाको आरोप छ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*