पाकिस्तानको ‘इस्लामाबाद सम्झौता’ इरान–अमेरिका युद्धविरामका लागि प्रस्ताव
अमेरिकाबीच जारी तनावपूर्ण द्वन्द्व रोक्न पाकिस्तानले कूटनीतिक पहल अघि बढाएको छ। रोयटर्सका अनुसार, पाकिस्तानले दुवै देशबीच तत्काल युद्धविराम र दीर्घकालीन शान्ति स्थापनाका लागि ‘दुई–चरणीय’ प्रस्ताव पेश गरेको छ। यसलाई अनौपचारिक रूपमा ‘इस्लामाबाद सम्झौता’ भनिएको छ।
यस योजनाअन्तर्गत पहिलो चरणमा सबै पक्ष सहमत भए युद्धविराम तुरुन्त लागू हुनेछ, जसले विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलमार्ग पुनः खोल्न मद्दत गर्नेछ। दोस्रो चरणमा दुवै पक्षबीच दीर्घकालीन शान्ति सम्झौताको वार्ता गरिने छ। अन्तिम चरणमा इस्लामाबादमा आमने–सामने वार्ता हुने अपेक्षा गरिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकईले तेहरानले अमेरिकालाई दिने कूटनीतिक जवाफ अन्तिम रूप दिइसकेको र उचित समयमा सार्वजनिक गरिने बताएका छन्। तर, इरानले कुनै सिधा वार्ता नगर्ने अडान राखेको छ।
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीरले यस पहलमा मध्यस्थकर्ताको रूपमा रातभर अमेरिकी उपराष्ट्रपति जेडी भान्स, ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानी विदेशमन्त्री अब्बास अराघचीसँग सम्पर्क राखेका थिए।
यो प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण पक्ष होर्मुज जलमार्ग खोल्ने विषय हो। युद्धविरामपछि यस मार्गलाई १५–२० दिनभित्र व्यापक सम्झौतालाई अन्तिम रूप दिने लक्ष्य राखिएको छ। यद्यपि, प्रारम्भिक सहमति नआए यस कूटनीतिक प्रयासबाट तत्काल परिणाम आउन सक्ने सम्भावना न्यून देखिन्छ।








