सर्लाही दुर्घटना प्रकरण: क्षतिपूर्तिमा विवाद, प्रहरी र परिवारबीच आरोप–प्रत्यारोप

कोल्हवी न्यूज
२०८२ चैत्र २३, सोमबार १४:५९ गते

सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ता बजारमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको क्षतिपूर्ति विषय अहिले विवादको केन्द्रमा पुगेको छ। प्रहरी र पीडित परिवारबीच एकअर्काप्रति आरोप–प्रत्यारोप चलिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही ले मृतकका आफन्त सम्पर्कमा नआएको दाबी गरेको छ। तर परिवारले भने कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति नदिइएको भन्दै गुनासो गरिरहेको छ।

गत कात्तिक १६ गते भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ठाकुरको वीरगञ्जमा उपचारका क्रममा निधन भएको थियो। दुर्घटनापछि पक्राउ परेका चालक विशाल महतोमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो, तर पछि उनी धरौटीमा रिहा भएका थिए।

प्रहरीका अनुसार मृतकका श्रीमान् श्यामसुन्दर ठाकुरलाई उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति लिन आवश्यक प्रक्रिया पूरा गर्न पटक–पटक जानकारी गराइएको थियो। साथै, घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय मलंगवा मा समयमै बुझाइसकिएको पनि जनाइएको छ।

तर मृतकका आफन्तले भने दुई महिनाभन्दा बढी समय बित्दा पनि कुनै राहत नपाएको गुनासो गर्दै प्रहरीमाथि लापरबाही र पक्षपात गरेको आरोप लगाएका छन्। मृतकका छोरा सन्जित शर्माले घटनाका कागजातमै त्रुटि रहेको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*