मध्यपूर्वको तनाव न्यूनीकरणका लागि चीन-रूसबीच सहकार्य गर्ने
चीनका उच्च कूटनीतिज्ञ एवं विदेशमन्त्री वाङ यीले आइतबार आफ्ना रूसी समकक्षी सेर्गेइ लाभरोभसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वमा जारी द्वन्द्वका कारण उब्जिएको तनाव न्यूनीकरणका लागि दुवै देश मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा चीन र रुसले निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपूर्वमा स्थिति दिनप्रतिदिन बिग्रँदै गएको र लडाइँको दायरा बढ्दै गएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विशेषगरी फेब्रुअरी २८ देखि इरानविरुद्ध अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको यस लडाइँलाई रोक्न चीनले ुतत्काल युद्धविरामु को माग पुनः दोहोर्याएको छ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुससँग मिलेर प्रमुख मुद्दाहरूमा तत्काल संवाद र सहकार्य गर्न चीन तयार रहेको कुरा पनि वाङले स्पष्ट पारेका छन्।
बेइजिङ र मस्कोबीचको घनिष्ठ आर्थिक तथा राजनीतिक सम्बन्ध सन् २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता थप प्रगाढ बनेको पृष्ठभूमिमा मध्यपूर्वको यो सङ्कटमा उनीहरूको कूटनीतिक सक्रियतालाई निकै महत्त्वका साथ हेरिएको छ।








