गुण्डागर्दी र बिचौलिया : चार दिनमा देशभर २२६ जना पक्राउ, मधेशमा १५ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ चैत्र २२, आईतवार १८:१३ गते

२२ चैत । नेपाल प्रहरीले देशभर सञ्चालन गरेको विशेष खोजी अभियानअन्तर्गत चार दिनमा २२६ जनालाई पक्राउ गरेको जनाएको छ।

गुण्डागर्दी, बिचौलिया गतिविधि तथा सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने व्यक्तिहरूलाई लक्षित गरी चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानमा उल्लेख्य सङ्ख्यामा व्यक्तिहरू नियन्त्रणमा लिइएका हुन्। प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार पक्राउ परेका सबैमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइसकिएको छ।

नेपाल प्रहरी का अनुसार पहिलो दिन चैत १८ गते काठमाडौँ उपत्यका र कोशी प्रदेशबाट ६९ जना पक्राउ परेका थिए। दोस्रो दिन चैत १९ गते कोशीबाट १, मधेसबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ गरी ४४ जनालाई नियन्त्रणमा लिइयो।

त्यसैगरी चैत २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट २ गरी २४ जना पक्राउ परे। अभियानको चौथो दिन चैत २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा विशेषगरी यातायात कार्यालय र मालपोत कार्यालयजस्ता सार्वजनिक सेवा प्रदान गर्ने स्थानमा सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरू तथा समाजमा भय सिर्जना गर्ने गुण्डाहरू रहेका छन्।

प्रहरीले नागरिकको सुरक्षा सुदृढ बनाउँदै सार्वजनिक व्यवस्था कायम राख्न यस्तो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*