बिहारमा विषाक्त मदिरा काण्ड:मृतकको संख्या ५ पुग्यो,१५ बिरामी,६ जनाको दृष्टि गुम्यो
रौतहट:भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने र बिरामीको संख्या बढ्दैगएको सार्वजनिक भएको छ। मोतिहारी क्षेत्रमा मृतकको संख्या बढेर ५ पुगेको छ भने १५ जना गम्भीर बिरामी परेका छन्। तीमध्ये ६ जनाले आँखाको दृष्टिसमेत गुमाएको बताइएको छ। सबै बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा २ जनाको अवस्था अझै चिन्ताजनक रहेको छ।
घटना रघुनाथपुर थाना क्षेत्रको बालगंगा गाउँबाट सुरु भएर आसपासका क्षेत्रमा फैलिएको बताइएको छ। बालगंगाका सम्पत साहको मुजफ्फरपुरस्थित एसकेएमसीएच अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि परीक्षण मांझी (४६) र हीरालाल भगतको ज्यान गएको थियो। प्रारम्भिक दुई मृत्यु भने अघिल्लो दिन बिहान र बिहीबार राति भएको जनाइएको छ।
घटनापछि प्रहरीले कारबाही थालेको छ। जिल्लाका एसपी शुवर्ण प्रभातले तुरकौलिया थाना इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरेका छन् भने चौकीदार भरत रायलाई पक्राउ गरिएको छ। साथै, तुरकौलिया र रघुनाथपुर थाना क्षेत्रमा हत्या मुद्दा दर्ता गरिएको छ। मृतक प्रमोद यादव र हीरालाल भगतका परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो।
दैनिक भास्करका अनुसार बुधबार साँझ दुई फरक थाना क्षेत्रमा स्थानीयहरूले मदिरा सेवन गरेका थिए, जसपछि उनीहरूको स्वास्थ्य बिग्रिन थालेको थियो। प्रहरीका अनुसार बिहीबार बिहान तुरकौलिया थाना क्षेत्रका पुलवा घाट निवासी चन्दुको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। उनका परिवारले कुनै जानकारी नदिई हतारमै अन्त्येष्टि गरेका थिए।
घटनाको वास्तविकता तब खुलेको हो,जब बालगंगाका लोहा ठाकुरको स्वास्थ्य अचानक बिग्रियो र आँखाको दृष्टि कमजोर हुन थाल्यो। उनलाई उपचारका लागि मदन राज नर्सिङ होम लगिएको थियो, जहाँ उनले मदिरा सेवन गरेको बताएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र प्रशासन सक्रिय भएका छन्। मदिरा सेवन गरेका व्यक्तिहरूको पहिचान गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ। यसैक्रममा तुरकौलिया क्षेत्रकै प्रमोद यादवको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।










