अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व का कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए
अब सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने तथा विदेशबाट आएका सामान छुटाउने सेवा सहज रूपमा उपलब्ध हुने भएको छ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयले यसअघि नै बिदाका दिन सेवा दिँदै आए पनि त्यहाँ रहेको भन्सार कार्यालय र बैंक नखुल्दा सेवाग्राहीले जाँचपासमा समस्या भोग्दै आएका थिए। यस विषयमा गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो देखाएको हो।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर बिदाका दिन पनि आवश्यक सबै सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। अब भन्सार जाँचपास र राजस्व भुक्तानीसम्बन्धी काम पनि बिदाकै दिन गर्न मिल्ने व्यवस्था मिलाइँदैछ।
हुलाक सेवा विभागका अनुसार गोश्वारा हुलाक कार्यालयमा दैनिक ठूलो मात्रामा अन्तर्राष्ट्रिय पार्सल आवतजावत हुने गरेको छ। गत फागुन महिनामा मात्र हजारौँ पार्सल आयात–निर्यात भएका थिए, जसबाट उल्लेख्य राजस्व पनि संकलन भएको छ।
सम्बन्धित निकायबीच समन्वय भएपछि बिदाका दिन सेवा विस्तारले सेवाग्राहीलाई थप सहज हुने र सरकारी सेवाको प्रभावकारिता समेत बढ्ने अपेक्षा गरिएको छ।








