“रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ”
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले रौतहट जिल्ला अदालतमा कार्यरत कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा लव कुमार सिंह रहेका छन्, जो अदालतका डिठ्ठा पदमा कार्यरत थिए।
अख्तियारका अनुसार अदालतको फैसला कार्यान्वयन गर्दै जग्गा फुकुवा गरिदिने बहानामा उनले सेवाग्राहीसँग रकम मागेका थिए। यस विषयमा उजुरी परेपछि निगरानीमा राखिएको उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
उनीलाई रौतहटको गौर नगरपालिका–१ स्थित जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा उनको साथबाट नगद रकम र मोबाइल फोन समेत बरामद गरिएको छ।
हाल सिंहमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।










