छठ पर्वको मौका छोपी वीरगञ्जमा अधिकांश सामानको मूल्य वृद्धि, फलफूलको मूल्य २५ प्रतिशतले बढयो

कोल्हवी न्यूज
२०७८ कार्तिक २२, सोमबार १०:१९ गते

छठ पर्वको मौका छोपेर व्यापारीले अधिकांश सामानको मूल्य वृद्धि गरेका छन् । चाडपर्वको मौका छोपेर बजार भाउ आकासिएको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका छन् । वीरगञ्जको घण्टाघर चोकमा छठ पर्वको लागि सामग्री खरिद गर्न पुगेका धर्मनाथ सर्राफले छठ पर्वमा पूजाको लागि चाहिने केरादेखि कागती सम्मको मूल्य बढेको सुनाए ।

सर्राफले अरु बेला पाँच रुपैयाँ गोटा पाउने कागती अहिले २० रुपैयाँ पुगेको बताए । छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ । छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ ।

अहिले केरा घरीको पाँचदेखि आठ सय सम्म बिक्री भएको व्यापारीहरू बताउँछन् । साथै उखु गोटाको १५ रुपैयाँमा बिक्री भएको व्यापारीको भनाइ छ । छठ पर्वमा केराको सिँगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएकाले हुँदा केराको अत्यधिक माग छ ।तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यपारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ । शनिवार मात्रै वीरगञ्ज बजारमा लाखौ रुपैयाँको केराको व्यापार भएको केराका एक ठेक्केदारले बताए ।

विगतको तुलनामा यस वर्ष केराको मूल्यमा अत्याधिक वृद्धि भएको छ । बाराको कलैया बजारमा मागअनुसार आपूर्ति नभएकोले केराको मूल्य ह्वात्तै वृद्धि भएको संजय साहले बताए । देशका विभिन्न ठाउँहरूमा केरा खेती गरिए पनि आपूर्ति गर्न नसक्दा भारतबाट केरा मगाएको फलफूल तथा तरकारी व्यवसायी समिति वीरगञ्जका अध्यक्ष बिदुर गुप्ताले बताए ।

उनले छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जमा ४५ ट्रक केरा भारतबाट भित्रिएको जानकारी दिए । गुप्ताले गत वर्षभन्दा फलफूलको मूल्य २५ प्रतिशतले बढेको बताए । यात्राडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*