सर्लाहीमा शिक्षा प्रमुखमाथि दुर्व्यवहार, वडा अध्यक्षसहितको टोलीमाथि आरोप
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि गालीगलौज र हातपातको प्रयास भएको घटना सार्वजनिक भएको छ।
किसनपुर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद चर्किएपछि रामेश्वर प्रसाद महतोसहितको टोलीले बस्नेतमाथि दुर्व्यवहार गरेको भिडियो बाहिर आएको हो।
सोमबार आयोजना गरिएको भेलामा समिति गठन प्रक्रिया अघि बढ्दा वडा अध्यक्षको इच्छाअनुसार निर्णय नभएपछि तनाव उत्पन्न भएको बताइएको छ। स्थानीयका अनुसार महतोसहित उनका सहयोगीहरूले शिक्षा शाखा प्रमुखमाथि अपशब्द प्रयोग गर्दै हातपातको प्रयास गरेका थिए। घटनापछि बस्नेतलाई गाउँबाटै लखेटिएको आरोपसमेत लागेको छ।
अर्का स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन भई रामपुकार महतो चयन भएका थिए। तर, उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै वडा अध्यक्षले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। साथै, निर्णय लेखिएको माइन्युट बुकसमेत खोसेर च्यातेको आरोप उनीमाथि लागेको छ।
घटनाप्रति स्थानीयले आपत्ति जनाउँदै जनप्रतिनिधिबाटै यस्तो व्यवहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको बताएका छन्। साथै, यस घटनाले स्थानीय तहमा सुशासन, पारदर्शिता र कर्मचारी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।










