दीपमहायज्ञसहित सादगीपूर्ण रूपमा मनाइयो डा. चिन्मय पण्ड्याको ५०औँ जन्मदिन
रौतहट :देव संस्कृति विश्वविद्यालय हरिद्वारका प्रतिकुलपति डा. चिन्मय पण्ड्याको ५०औँ जन्मदिन अखिल विश्व गायत्री परिवारको मुख्यालय शान्तिकुञ्जमा गायत्री दीपमहायज्ञसहित सादगीपूर्ण वातावरणमा मनाइएको छ।
यस अवसरमा गायत्री परिवारका प्रमुखद्वय डा. प्रणव पण्ड्या र श्रद्धेया शैल दीदीको मार्गदर्शनमा दीपयज्ञ आयोजना गरिएको थियो। यज्ञमा सर्वशक्तिमान गायत्री मातासँग डा. पण्ड्याको उज्ज्वल भविष्यको कामना गर्दै प्रार्थना गरिएको थियो भने उपस्थित वरिष्ठ व्यक्तित्वहरूले उनलाई शुभाशीष प्रदान गरेका थिए।
डा. पण्ड्याले लण्डनस्थित प्रतिष्ठित कलेजबाट एमआरसीपी (साइको) उपाधि हासिल गरेपछि देश सेवाको उद्देश्यले भारत फर्किएका हुन्। उनी भट्किएका युवालाई समाजको मूलधारमा जोड्न निरन्तर सक्रिय रहँदै आएका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त विभिन्न सम्मान तथा उपाधिहरू गायत्री परिवारका कार्यकर्तालाई समर्पण गरिसकेका छन्।
उनको भनाइमा पूज्य गुरुदेवका कार्यमा लाग्दा प्राप्त हुने आनन्द अन्यत्र दुर्लभ हुन्छ। कार्यक्रममा शान्तिकुञ्जका वरिष्ठ कार्यकर्तासहित देशका विभिन्न राज्यबाट आएका परिजनहरूको उपस्थिति रहेको थियो। देव संस्कृति विश्वविद्यालय परिवारले पनि जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको छ।
यसै क्रममा रामनवमीको अवसर पारेर शान्तिकुञ्जमा सूर्योदयदेखि सूर्यास्तसम्म विश्व बन्धुत्वको भावना र भगवान श्रीरामका आदर्शको प्रसारका लागि गायत्री महामन्त्रको सामूहिक जप कार्यक्रमसमेत आयोजना गरिएको थियो।










