कैलालीमा श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या
धनगढी, ५ चैत — गोदावरी नगरपालिका–४ अमलेशैनी मा एक पुरुषले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।
मृतक २८ वर्षीया सङ्गीता मगर हुन् भने उनका ३१ वर्षीय श्रीमान् रामबहादुर मगर गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै जना जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूबीच विवाद भएको थियो। सोही क्रममा रामबहादुरले भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली चलाएका थिए। त्यसपछि उनले आफैँमाथि पनि गोली प्रहार गरेका थिए।
गम्भीर घाइते रामबहादुरको उपचार सेती प्रादेशिक अस्पताल मा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना का अनुसार घटनाबारे अनुसन्धान जारी छ। प्रहरीले घटनास्थलको अध्ययन गर्दै आरोपीको स्वास्थ्य अवस्थाका आधारमा थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।










