इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

तस्बिरः बिबिसी
कतारको प्रमुख औद्योगिक क्षेत्र ‘रास लाफान’मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि ठूलो क्षति भएको जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्यास प्रशोधन क्षेत्रमा लक्षित उक्त प्रहारले ऊर्जा पूर्वाधारमा गम्भीर असर पारेको छ।
कतारको सरकारी पेट्रोलियम कम्पनीले इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको हमलाको प्रतिशोधस्वरूप यो आक्रमण भएको जनाएको छ। यसअघि इजरायली कारबाहीपछि तेहरानले कडा प्रतिक्रिया दिने चेतावनी दिएको थियो।
‘साउथ पार्स’ विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक हो, जसमा इरान र कतार दुवैको साझेदारीमा उत्पादन र प्रशोधन हुँदै आएको छ। सोही रणनीतिक महत्वका कारण रास लाफानलाई निशाना बनाइएको बताइएको छ। यद्यपि, यस घटनाबारे इजरायलले औपचारिक प्रतिक्रिया दिएको छैन।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव अझ बढेको छ। अमेरिका, इजरायल र इरानबीचको टकरावले क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको छ। यसको असर खाडीका विभिन्न देशहरू—दुबई, कतार, कुवेत, इराक, बहराइन र साउदी अरेबियासम्म फैलिएको छ।
खाडी मुलुकमा ठूलो संख्यामा रहेका नेपाली कामदारहरूका कारण नेपालमा समेत चिन्ता र त्रास बढ्न थालेको छ। लगातारको द्वन्द्वले ऊर्जा आपूर्ति र विश्व बजारमा समेत दबाब सिर्जना गर्ने संकेत देखिएको छ।










