फागुनमा रौतहट प्रहरीको सक्रियता : ८२ मुद्दा दर्ता, ३४ जनाको जीवन बचायो
रौतहट,जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै अपराध नियन्त्रणदेखि उद्धारसम्म उल्लेखनीय गतिविधि भएको जनाएको छ। प्रहरी प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार महिनाभरि जिल्लामा शान्ति सुरक्षा कायम राख्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो।
प्रहरी तथ्यांकअनुसार फागुनमा विभिन्न प्रकृतिका ८२ मुद्दा दर्ता भएका छन्। जसमध्ये ज्यानसम्बन्धी ९, आत्महत्या ३२, संगठित तथा आर्थिक अपराध १०, सामाजिक अपराध १२, महिला तथा बालबालिका ३, सवारी ज्यान ४ र अन्य १२ रहेका छन्। जघन्य अपराधतर्फ कर्तव्य ज्यान १ र बैंकिङ कसुर ७ गरी थप ८ मुद्दा दर्ता भएका छन्।
महिनाभरि परेको १६० उजुरीमध्ये १०१ फर्छ्यौट भइसकेका छन् भने ५९ मुद्दा अनुसन्धानकै चरणमा छन्। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २४० ग्राम खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन्।
सवारी दुर्घटनातर्फ फागुनमा ८७ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन्। यस्तै, आत्महत्या प्रयासमा रहेका ३४ जनाको समयमै उद्धार गरी ज्यान जोगाइएको प्रहरीको दाबी छ।
सुरक्षा चुनौतीका रूपमा देखिएको गौर–६ सबगढाको साम्प्रदायिक विवादमा २४ जना घाइते भएका थिए भने ५ सवारीसाधन जलेका र ३ घरमा क्षति पुगेको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले १५३ राउन्ड अश्रुग्यास र ३७ राउन्ड हवाई फायर गर्नुपरेको थियो।
यसै अवधिमा १३ वटा आगलागीका घटनाबाट १ करोड १३ लाखभन्दा बढी क्षति भएको छ। घटनामा ३ जना घाइते भएका छन् भने १०४ जनाको सुरक्षित उद्धार गरिएको छ।
प्रहरीले अवैध गतिविधि नियन्त्रणमा पनि सक्रियता देखाउँदै ५० क्युफिट खयर काठसहित सवारीसाधन बरामद गरी १ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। साथै, हुन्डी कारोबारमा संलग्न एक जनामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिएको छ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७० जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदा १ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। विद्यालयमा साइबर अपराध, लागूऔषध र आत्महत्या सम्बन्धी कार्यक्रममार्फत ३२४ विद्यार्थी सहभागी गराइएको छ।
प्रहरी परिचालनतर्फ मोबाइल, पैदल र ग्रामीण गस्ती गरी ७ हजारभन्दा बढी ड्युटी सञ्चालन गरिएको छ। साथै,‘एक जिल्ला, एक समस्या’ अभियानअन्तर्गत लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अभिमुखीकरणपछि अभिभावकको जिम्मा लगाइएको छ।
हराएका तथा चोरी भएका ४ मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जनाएको छ।
जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउँदै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रहरीले आगामी दिनमा स्थानीय तह र नागरिकसँग सहकार्य अझ मजबुत बनाउने जनाएको छ।










