ओडिसाको कटकस्थित मेडिकल कलेज अस्पतालमा आगलागी, १० बिरामीको मृत्यु

कोल्हवी न्यूज
२०८२ चैत्र २, सोमबार १०:४७ गते

भारतको ओडिसा राज्यको कटकमा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज तथा अस्पतालमा भीषण आगलागी हुँदा १० जना बिरामीको ज्यान गएको छ। आइतबार राति करिब ३ बजेतिर ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले केही समयमै उग्र रूप लिएको थियो।

आगलागी हुँदा उक्त आईसीयूमा २३ जना बिरामी उपचाररत रहेको बताइएको छ। आगो नियन्त्रणको प्रयासका क्रममा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप ३ जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन्। बिरामीहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा कम्तीमा ११ जना अस्पताल कर्मचारीसमेत घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी सोमबार बिहान अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।

मुख्यमन्त्री माझीले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन गर्न निर्देशन समेत दिएका छन्।

ओडिसाकै ठूलो स्वास्थ्य संस्थाका रूपमा परिचित उक्त अस्पतालमा राज्यका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। आईसीयूजस्ता संवेदनशील कक्षमा हुने आगलागीका घटनाले अस्पतालहरूको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ।

यसअघि सन् २०२५ को अक्टोबरमा जयपुरस्थित सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा भएको आगलागीमा पनि ८ जना बिरामीको ज्यान गएको थियो। त्यस घटनामा स्टोर रुममा रहेको स्मोक डिटेक्टरले काम नगर्दा अलार्म प्रणाली सक्रिय हुन नसकेको बताइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*