महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार बरामद

कोल्हवी न्यूज
२०८२ चैत्र १, आईतवार १३:२१ गते

महोत्तरी, ०१ चैत । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ क्षेत्रबाट प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सहसौला चोक नजिकबाट २० वटा पोकामा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा कार बरामद गरिएको हो। नियन्त्रणमा लिइएको कारको नम्बर डिएल १ सीओ ५८६९ रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार शनिबार राति करिब ११ बजे गोप्य सूचनाका आधारमा कार रोकी जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो। उक्त कार पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ लैजाँदै गरिएको थियो।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त टोलीले कारसहित गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनापछि कार चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*