ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा स्थानीय २५ वर्षीय दीपक दासको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार भुटहाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश ०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले गएराति ठक्कर दिएको थियो।
दुर्घटनामा दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का घाइते मिथुन दासको विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी कार्य जारी रहेको छ।










