प्रतिनिधिसभा निर्वाचनमा भ्रामक सूचना फैलाउने ३७ जना पक्राउ
बीरगन्ज, २९ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा नेपाल प्रहरीले देशभरबाट ३७ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदान सम्पन्न हुने अवधिसम्म १५ जिल्लाबाट ती व्यक्तिहरू पक्राउ परेका हुन्।
मधेस प्रदेशका सप्तरी, धनुषा, रौतहट र बारा जिल्लाबाट एक–एक गरी चार जना पक्राउ परेका छन्। देशभरमध्ये सबैभन्दा धेरै १६ जना काठमाडौँ जिल्लाबाट नियन्त्रणमा लिइएका छन्। बाँकेबाट ४ जना, दाङबाट ३ जना, चितवन र सल्याणबाट २–२ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, कास्की, रुपन्देही र अछामबाट एक–एक जना पक्राउ परेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते गरिएको थियो भने फागुन २१ गते मतदान सम्पन्न भएको थियो। सोही अवधिमा सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी भ्रम फैलाएको आरोपमा विभिन्न स्थानबाट यी व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।










