पोखरामा बैठककै क्रममा एमाले नेता कृष्ण थापाको निधन

कोल्हवी न्यूज
२०८२ फाल्गुन २८, बिहीबार १७:५७ गते

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा को बिहीबार पोखरामा आकस्मिक निधन भएको छ। जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा अचानक बेहोस भएर ढलेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।

पोखरास्थित मणिपाल शिक्षण अस्पताल मा उपचारका लागि पुर्‍याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्। अस्पताल स्रोतका अनुसार बैठकस्थलमै हृदयघात भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

थापाको पार्थिव शरीर हाल मणिपाल अस्पतालमै राखिएको छ। उनको निधनसँगै कास्कीको राजनीतिक वृत्तमा शोकको वातावरण छाएको छ।

पछिल्लो समय पार्टीभित्रका आन्तरिक गतिविधिका कारण पनि थापा चर्चामा थिए। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा उनलाई कास्की–२ बाट उम्मेदवार बनाउने प्रारम्भिक तयारी भए पनि अन्तिम समयमा टिकट परिवर्तन गरेर रश्मि आचार्य लाई उम्मेदवार बनाइएको थियो।

पार्टीभित्र इमानदार र निष्ठावान् नेताका रूपमा परिचित थापाको आकस्मिक निधनले एमालेले एक अनुभवी नेता गुमाएको भन्दै नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल भइरहेका बेला उनी बैठकमा सक्रिय रूपमा सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*