युद्ध अन्त्यका लागि इरानको सर्त: अधिकार मान्यता र क्षतिपूर्ति माग

कोल्हवी न्यूज
२०८२ फाल्गुन २८, बिहीबार ०८:१० गते

तेहरान। अमेरिका र इजरायलसँग जारी द्वन्द्व अन्त्य गर्न इरानले केही सर्त अघि सारेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध रोक्ने एक मात्र उपाय इरानको वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु भएको बताएका छन्।

रुस र पाकिस्तानका नेतासँगको संवादका क्रममा उनले मध्यपूर्वमा शान्ति स्थापना गर्न इरान प्रतिबद्ध रहेको दाबी गरेका हुन्। सामाजिक सञ्जाल एक्समा उनले युद्ध अन्त्यका लागि तीन मुख्य सर्त उल्लेख गरेका छन्।

उनका अनुसार इजरायल र अमेरिकाले इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनु र भविष्यमा हुने कुनै पनि आक्रमण रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु आवश्यक छ।

मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला आएको पेजेस्कियानको अभिव्यक्तिले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। मंगलबार मात्र इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी र इजरायली सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरिएको जनाएको थियो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि क्षेत्रीय द्वन्द्व थप चर्किएको हो। त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ।

इरानका अनुसार अमेरिका–इजरायलको आक्रमणबाट हालसम्म १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ८ हजार घर ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीले देशका ९ हजार ६०० आवासीय क्षेत्रमा आक्रमण भएको बताएका छन्, जसमा घर, बजार, अस्पताल, स्वास्थ्य केन्द्र र विद्यालयसमेत प्रभावित भएका छन्।

यस्तै इरानले इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा पनि क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको आक्रमणबाट अमेरिकी सेनाका सात जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*