नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित गराउने प्रयास भएको दाबी गर्दै एक अडियो सार्वजनिक भएको छ। अडियोमा कांग्रेस नेता शेखर कोइराला पक्षबाट कार्यकर्ता परिचालन गरिएको संकेत देखिएको बताइएको छ।
मोरङ–६ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कोइरालाले सर्लाही–४ मा थापाविरुद्ध गतिविधि चलाएको आरोप संस्थापन पक्षले लगाएको हो। सार्वजनिक अडियोमा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया र ‘सिंह’ थरका एक व्यक्तिबीच भएको भनिएको टेलिफोन संवाद समेटिएको छ।
अडियोअनुसार, सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहलाई सहयोग पुर्याउने र कांग्रेसभित्रकै मत प्रभावित गर्ने रणनीतिबारे कुराकानी भएको सुनिन्छ। संवादका क्रममा ‘उपेन्द्र मिलाएपछि पैसा कसले दिने?’ भन्ने प्रश्नमा ‘अमरेशले’ भन्ने जवाफ आएको अंश सार्वजनिक भएको छ।
महाधिवेशनपछिको दूरी र आन्तरिक द्वन्द्व
कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला र थापा एउटै प्यानलबाट क्रमशः सभापति र महामन्त्रीका आकांक्षी थिए। पछिल्लो समय विशेष महाधिवेशनको विषयलाई लिएर उनीहरूबीच दूरी बढेको थियो। कोइराला नियमित महाधिवेशनको पक्षमा उभिँदा तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया अघि बढाएका थिए।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि कोइराला अदालत गएका थिए। यद्यपि, सुनुवाइ टुंगो नलाग्दै उनी थापाकै हस्ताक्षरमा मोरङ–६ बाट उम्मेदवार बनेका हुन्।
‘प्रधानमन्त्री’ घोषणापछि असन्तुष्टि
कांग्रेस केन्द्रीय समितिले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि कोइरालाले संसदीय अभ्यासविपरीत निर्णय भएको टिप्पणी सार्वजनिक रूपमा गरेका थिए। संस्थापन पक्षका नेताहरूले भने सर्लाही–४ मा थापालाई कमजोर पार्न आन्तरिक चलखेल भएको आशंका व्यक्त गरेका छन्।
सर्लाहीका एक कांग्रेस कार्यकर्ताका अनुसार, शेखर पक्षबाट पूर्व प्रदेश सांसद उपेन्द्र कुशवाहालाई प्रभाव पार्ने प्रयास भएको बुझिएको छ। तर कुशवाहा पछिल्लो समय थापा नजिक रहेको र उनको निर्वाचन परिचालनमा सक्रिय रहेको दाबी गरिएको छ।
नियन्त्रणपछि अडियो बाहिर
धनकौल क्षेत्रमा ‘अस्वाभाविक गतिविधि’ गरेको आरोपमा कांग्रेस कार्यकर्ताले एक व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। सोधपुछका क्रममा उनले आफूलाई शेखर पक्षबाट खटाइएको स्वीकार गरेको दाबी गरिएको छ। त्यसपछि मोबाइल जाँच गर्दा दिनेश थपलिया र अमरेश सिंहसँग नियमित सम्पर्क भएको विवरण भेटिएको स्रोतको भनाइ छ।
यसअघि स्वतन्त्र रूपमा निर्वाचन जितेका अमरेशले थापाविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए भने कोइरालाप्रति नरम देखिएका थिए। स्रोतका अनुसार कोइराला र अमरेशबीच चुनाव घोषणा पछि भेटसमेत भएको दाबी गरिएको छ।
घटनाबारे औपचारिक प्रतिक्रिया भने सम्बन्धित नेताहरूबाट आउन बाँकी छ।








