सहायता अभावले दक्षिण सुडानमा मानवीय संकट चर्कियो, १९ लाख जीवन जोखिममा
आर्थिक सहायता कोष अभावका कारण दक्षिण सुडानमा १९ लाखभन्दा बढी मानिसको जीवन जोखिममा परेको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM)ले जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता तीव्र रूपमा बढिरहेको उल्लेख गरिएको छ।
राष्ट्रसंघका अनुसार राष्ट्रपति साल्भा कीर र उहाँका लामो समयदेखिका प्रतिद्वन्द्वी रिक माचरका समर्थकबीच पछिल्लो समय हिंसा चर्किएको छ। विशेषगरी जोङलेई राज्यमा केन्द्रित द्वन्द्वका कारण कम्तीमा २ लाख ८० हजार मानिस विस्थापित भएका छन्।
सन् २०११ मा स्वतन्त्र राष्ट्र बनेयता दक्षिण सुडान गृहयुद्ध, गरिबी र भ्रष्टाचारको मारमा पर्दै आएको छ। वर्षौँदेखिको द्वन्द्व, बाढी र राजनीतिक अस्थिरताले विस्थापन समस्या झनै गहिरिएको छ।
छिमेकी सुडानमा सन् २०२३ अप्रिलदेखि जारी युद्धका कारण १३ लाखभन्दा बढी मानिस दक्षिण सुडान प्रवेश गरेका छन्। यसले सीमावर्ती क्षेत्र, आधारभूत सेवा र पूर्वाधारमा ठूलो दबाब सिर्जना गरेको राष्ट्रसंघले जनाएको छ।
IOM परियोजनाका उपमहानिर्देशक उगोची डेनियलका अनुसार कोष अभावले दीर्घकालीन समाधानको प्रयास कमजोर बनाएको छ। सन् २०२६ को प्रतिकार्य योजनाका लागि आवश्यक २९ लाख अमेरिकी डलरमध्ये उपलब्ध रकम अत्यन्त न्यून रहेको जनाइएको छ।
यसैबीच, राष्ट्रसंघको सबैभन्दा ठूलो दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले सन् २०२५ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि वैदेशिक सहायता कटौती गरेको छ। अन्य दातृ राष्ट्रहरूले पनि सहयोगमा कडाइ गरेपछि दक्षिण सुडानको मानवीय संकट थप जटिल बन्दै गएको छ।










