राँची–दिल्ली एयर एम्बुलेन्स दुर्घटना: सातै जनाको ज्यान गयो
भारतको झारखण्ड राज्यस्थित राँचीबाट दिल्लीका लागि उडेको एक निजी हवाई एम्बुलेन्स सोमबार साँझ चतरा जिल्लामा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको ज्यान गएको छ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले घटनाको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार विमान साँझ ७ः११ बजे राँचीको बिरसा मुन्डा विमानस्थल बाट चिकित्सकीय उडानका रूपमा दिल्लीका लागि प्रस्थान गरेको थियो।
उडान भरेको केही समयमै विमानसँगको राडार तथा रेडियो सम्पर्क विच्छेद भएको थियो। कोलकाता हवाई यातायात नियन्त्रण कक्षसँग अन्तिम पटक साँझ ७ः३४ बजे सम्पर्क भएको जनाइएको छ। त्यसको करिब ३० मिनेटपछि उद्धार समन्वय केन्द्र सक्रिय पारिएको थियो।
खोज तथा उद्धार टोली घटनास्थलमा पुग्दा विमानमा सवार कोही पनि जीवित फेला नपरेको बताइएको छ। दुर्घटनामा चालक दलका सदस्य क्याप्टेन विवेक विकास बिलागत र क्याप्टेन सवरदीप सिंहसहित बिरामी सञ्जय कुमार, कुरुवा अर्चना देवी, धुरु कुमार, चिकित्सक विकास कुमार गुप्ता तथा प्यारामेडिक सचिन कुमार मिश्रको ज्यान गएको पुष्टि भएको छ।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गर्न विमान दुर्घटना अनुसन्धान ब्यूरो ले छानबिन सुरु गरेको जनाएको छ।










