दाङमा नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार तुलसीपुर–५ वीरेन्द्र चोकमा रास्वपा सभापति रवि लामिछाने लाई स्वागत गर्न आयोजित कार्यक्रममा उपस्थित भीडका बीच नेकपा (एमाले) को झण्डा जलाइएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन्।
प्रहरीले निर्वाचनको संवेदनशील समयमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न अनुरोध गरिएको छ।








