सप्तरीमा ७ वर्षीया बालिका अपहरण, फिरौती माग्ने युवक पक्राउ
सप्तरीको खड्क नगरपालिका–८ बाट हराएकी ७ वर्षीया नेहा खातुनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालिकाको अपहरण गरी फिरौती माग्ने आरोपमा ३० वर्षीय ईम्तियाज अहमदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार, मङ्गलबार साँझ घरबाट हराएकी बालिकाको खोजीका क्रममा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानकै क्रममा अपहरणकर्ता ईम्तियाजले बालिकाका बुवालाई फोन गरी फिरौती माग्दै रुपनी–१ स्थित खाँडो खोलामा बोलाएका थिए।
प्रहरी निरीक्षक संजिव बोगटी र प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले बिहीबार साँझ खाँडो खोला नजिकबाट उनलाई पक्राउ गरेको हो।
हाल आरोपीलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।










