अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रमसम्बन्धी वार्ता १० दिनभित्र निष्कर्षमा नपुगे सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको छ। उहाँले वाशिङ्टनमा आयोजित बोर्ड अफ पिसको पहिलो बैठकमा भने, यदि अर्थपूर्ण सम्झौता भएन भने स्थिति गम्भीर हुन सक्ने बताउनुभयो।
ट्रम्पका अनुसार, इरानसँग भइरहेको वार्ता सकारात्मक भए पनि विगतका अनुभवलाई ध्यानमा राख्दा, इरानसँग ठोस सम्झौतामा पुग्न गाह्रो हुने उल्लेख गर्नुभयो। यसअघि ह्वाइट हाउसले कूटनीतिक समाधान अझै सम्भव रहेको जनाएको थियो। पछिल्लो समय अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थितिमा वृद्धि गरेको छ। विमानवाहक पोत पनि तैनाथ गरिएको छ भने गत वर्ष जुन महिनामा अमेरिकी मिसाइल र विमानले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेका थिए।
इ्रानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकी युद्धपोतलाई सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै प्रतिक्रिया जनाउनुभएको छ।
अमेरिकी कंग्रेसका केही सदस्यहरूले कंग्रेसको स्वीकृतिविना इरानविरुद्ध सैन्य कारबाही नगर्न दबाब दिएका छन्। बेलायत सरकारले पनि आफ्नो सैन्य आधारलाई सम्भावित आक्रमणका लागि प्रयोग गर्न अनुमति नदिएको जनाइएको छ।
यस घटनाक्रमसँगै इरान र अमेरिकाबीचको तनाव थप गम्भीर बनेको छ।










