रौतहटका युवा कुबेतमा बिचल्ली: सपना बोकेर गएका,स्वदेश फर्किने पैसासमेत अभाव
रौतहट:रौतहटका एक युवा वैदेशिक रोजगारीको मीठो आश्वासनमा कुबेत पुगेका थिए। तर आज उनी परदेशको कोठामा बेरोजगार र निराश बनेर बस्न बाध्य छन्। एजेन्टसँग सम्पर्क विच्छेद भएपछि एक महिनादेखि कामविहीन अवस्थामा रहेका उनी साथीहरूको सहारामा दिन काटिरहेका छन्।
कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकाका २४ वर्षीय सन्दीप यादवले करिब दुई लाख ८९ हजार रुपैयाँ बुझाएर छ महिना अघि कुबेत गएका थिए। सर्लाहीका अजय कुमार साहसहित पाँच जना युवकलाई बसुन्धरास्थित नमो बुद्ध मेनपावरमार्फत पठाइएको थियो। सर्लाही मानपुर हरापूर्वाका एजेन्ट अजय कुमार यादवले मासिक १०० कुवेती दिनार तलब, खाना–बस्ने सुविधा र दैनिक ८ घण्टा मात्रै काम हुने आश्वासन दिएका थिए।
आश्वासन र यथार्थबीचको दूरी
कुबेत पुगेको केही दिनमै सन्दीपको काम परिवर्तन गरियो। उनलाई हुन्डाई कम्पनीअन्तर्गत शौचालय सफा गर्ने र फोहर उठाउने काममा खटाइयो। “आधारभूत सुरक्षा सामग्रीसमेत उपलब्ध गराइएन,” सन्दीपको गुनासो छ।
मासिक १०० दिनार तलब पाइए पनि खाना, नास्ता र अन्य खर्च आफैंले बेहोर्नुपर्दा ३५ दिनार खर्च हुने गरेको उनले बताए। “तीन लाख लगानी गरेर महिनामा जम्मा ६५ दिनार बचत हुनु भनेको ठगी सरह हो,” उनी भन्छन्।
‘फर्काइदिन्छु’ भन्दै काम छोड्न लगाइयो
दुई महिना काम गरेपछि उनले नेपाल फर्किने इच्छा व्यक्त गरे। सुरुमा एजेन्टले प्रक्रिया मिलाइदिने आश्वासन दिए। तर पछि काम नै छोडेर कोठामा बस्न निर्देशन दिँदै ३०० दिनार पठाउनुपर्ने सर्त राखिएको सन्दीपको आरोप छ। रकम जुटाउन नसक्दा एजेन्टले फोन उठाउन छोडेको उनले बताए।काम छोडेको एक महिना २० दिन बितिसक्दा पनि उनले पाउनुपर्ने तलब नपाएको गुनासो छ।
प्लास्टिक ओछ्याएर गुजारा
साथीहरूसँग एउटै कोठामा बसिरहेका उनीहरूलाई कम्पनीले खाली कोठा त दिएको छ, तर आधारभूत सुविधा उपलब्ध छैन। “प्लास्टिक ओछ्याएर सुतिरहेका छौं, कतिपटक भोकै बस्नुपरेको छ,”सन्दीपले दुखेसो पोखेका छन्।
एजेन्ट अजय कुमार यादवले भने फर्काउने प्रक्रिया चलिरहेको दाबी गरे पनि थप जानकारी दिन चाहेनन्। नमो बुद्ध मेनपावर कम्पनीका प्रतिनिधि सुजन भट्ट लाई फोन गर्दा उनी समेत सम्पर्कमा आएका छैनन्।
वैदेशिक रोजगारीको नाममा ठूलो रकम असुलेर युवालाई अलपत्र पार्ने प्रवृत्तिले फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ—
परदेशमा सपना बेच्नेहरूलाई जवाफदेही बनाउने दिन कहिले आउला?










