रौतहटमा चरित्रहीन भन्दै श्रीमतीको हत्या,‘आत्मसमर्पण गर्छु’भन्दै श्रीमान फरार

कोल्हवी न्यूज
२०८२ फाल्गुन ४, सोमबार १९:११ गते

रौतहट:रौतहटमा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएको घटना सार्वजनिक भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले ३५ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको हो।

स्थानीय जनप्रतिनिधिका अनुसार दम्पतीबीच लामो समयदेखि वैवाहिक सम्बन्ध तनावपूर्ण थियो। महन्थ गाउँ नजिकै सानो होटल सञ्चालन गर्दै आएका थिए। आरती भने विगत केही वर्षदेखि उद्योगमा काम गर्ने भन्दै घर छाडेर वीरगञ्ज, जीतपुर, सिमरा र चन्द्रपुरलगायत स्थानमा बस्दै आएकी थिइन्। करिब डेढ वर्षपछि पाँच दिनअघि मात्र उनी घर फर्किएकी थिइन्।

शनिबार राति दुवैजना सँगै सुतेका थिए। तर आइतबार बिहान ११ बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयलाई शंका लागेको थियो। सूचना पाएपछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया बाट खटिएको प्रहरी टोलीले जनप्रतिनिधिको रोहवरमा ढोका खोलेको थियो।

प्रहरीका अनुसार आरती आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको थियो। घटनास्थलबाट बन्चरो र दाउ बरामद गरिएको छ।

घटनापछि महन्थ फरार भएका थिए। वडा अध्यक्ष राम एकवाल यादवका अनुसार फोन सम्पर्क हुँदा उनले श्रीमतीको चरित्रमाथि आरोप लगाउँदै हत्या गरेको बताएका थिए र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए।

जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल ले घटनाको पुष्टि गर्दै दम्पतीबीच लामो समयदेखि विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। अनुसन्धान नसकिँदासम्म घटनाको कारणबारे औपचारिक निष्कर्ष दिन नसकिने उनको भनाइ छ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले फरार आरोपीको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*