आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ८२ लाखभन्दा बढी ठगी, तीन जना पक्राउ

कोल्हवी न्यूज
२०८२ माघ २९, बिहीबार १६:५५ गते

आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक–९ बस्दै आएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दूधकोशी–३ घर भई काठमाडौँ बूढानीलकण्ठ–३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी–१ निवासी ३९ वर्षीय रामकुमार राई रहेका छन्।
प्रहरीका अनुसार जटाधर राउतले बेलायत र रोमानिया पठाइदिने भन्दै पाँच जनाबाट करिब ८० लाख रुपैयाँ असुलेका थिए। त्यस्तै, ठमराज र रामकुमारले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै एक जनाबाट २ लाख ८० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*