रौतहटमा संयुक्त गस्तीको कारबाही : अवैध साल काठसहित सुमो र मोटरसाइकल बरामद
रौतहट, २९ माघ — रौतहटमा सशस्त्र प्रहरी र वन सुरक्षा टोलीको संयुक्त अपरेशनका क्रममा अवैध साल काठसहित एक टाटा सुमो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको छ। जंगलसहिया क्षेत्रमा काठ तस्करी भइरहेको गोप्य सूचनाको आधारमा बुधबार राति करिब ९ः३० बजे टोलीले छापा मारेको हो।
जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले बागमती नहर आसपास शंकास्पद गतिविधि देखेपछि सवारीसाधन रोकी जाँच गरेको थियो। जाँचका क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमोमा लोड गरिएको साल काठ र ना ६७ प १०५१ नम्बरको मोटरसाइकल बरामद भएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
सुरक्षा टोली घटनास्थलमा पुगेपछि संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहका अनुसार बरामद काठ र सवारीसाधन कार्यालयमा सुरक्षित राखिएको छ। काठको परिमाण निर्धारण तथा कानुनी प्रक्रिया अघि बढाइएको छ भने फरार तस्करहरूको खोजी तीव्र पारिएको छ।
प्रतिनिधिसभा निर्वाचन (फागुन २१) नजिकिँदै गर्दा वन क्षेत्रमा तस्करी बढ्न सक्ने आकलन गर्दै जिल्लाभर सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती कडाइका साथ परिचालन गरिएको वन कार्यालयले जनाएको छ।










