ब्रिटिस कोलम्बियाको टम्बलर रिजमा भीषण गोलीकाण्ड: ८ को मृत्यु, २५ भन्दा बढी घाइते

कोल्हवी न्यूज
२०८२ माघ २९, बिहीबार ०६:५० गते

क्यानडाको ब्रिटिस कोलम्बियास्थित सानो सहर टम्बलर रिज हिंसात्मक गोलीकाण्डले स्तब्ध बनेको छ। टम्बलर रिज सेकेन्डरी स्कूलमा भएको अन्धाधुन्ध गोली प्रहारमा आठ जनाले ज्यान गुमाएका छन् भने २५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले घटनाको मुख्य संदिग्धका रूपमा १८ वर्षीया जेसी भान रुट्सलारलाई पहिचान गरेको छ। प्रहरीका अनुसार उनले आक्रमणपछि घटनास्थलमै आफैँलाई गोली हानी आत्महत्या गरेकी थिइन्।

अनुसन्धानबाट खुलेअनुसार जेसीले विद्यालय जानुअघि आफ्नै घरमा ३९ वर्षीया आमा र ११ वर्षीय सौतेनी भाइको हत्या गरेकी थिइन्। त्यसपछि उनी विद्यालय पुगेकी थिइन् र त्यहाँ अन्धाधुन्ध गोली चलाएकी थिइन्।

विद्यालयमा भएको गोलीकाण्डमा एक ३९ वर्षीया शिक्षिका, १२ वर्षका तीन छात्रा तथा १२ र १३ वर्षका दुई छात्रको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा अन्य धेरै विद्यार्थी तथा कर्मचारी घाइते भएका छन्, जसको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।

आरसीएमपीका डेपुटी कमिश्नर ड्वेन म्याकडोनाल्डका अनुसार संदिग्धको पृष्ठभूमि जटिल रहेको छ। उनी जैविक रूपमा पुरुष जन्मिए पनि पछिल्ला छ वर्षदेखि महिलाको रूपमा पहिचान बनाएर बस्दै आएकी थिइन्। उनीसँग पहिले वैध बन्दुक इजाजतपत्र रहे पनि त्यसको म्याद समाप्त भइसकेको पाइएको छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण विगतमा पनि प्रहरी उनको घरमा पुग्ने गरेको जानकारी अनुसन्धानबाट बाहिर आएको छ।

मंगलबार दिउँसो स्थानीय समय अनुसार करिब १:३० बजे विद्यालयमा गोली चलेको खबर पाएलगत्तै दुई मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी भित्र पस्दा संदिग्ध मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाट एक लामो बन्दुक र परिमार्जित ह्यान्डगन बरामद गरिएको छ।

यस दर्दनाक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विद्यार्थी र शिक्षकहरूले अकल्पनीय पीडा भोग्नुपरेको उल्लेख गरेका छन्। घटनापछि समुदायमा शोक र त्रासको वातावरण छ भने सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी बहस पुनः चर्किएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*