सङ्गठित रूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्तालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गुप्तालाई पुस १७ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा भारतको रक्सौलबाट अवैध माध्यम (हुण्डी) प्रयोग गरी नेपाली रुपैयाँ नेपाल भित्र्याई विभिन्न बैंक खातामार्फत रकम स्थानान्तरण र लुकाउने कार्यमा संलग्न रहेको खुलेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको हो ।
प्रहरीका अनुसार गुप्ताले बैंक खातामा चेक तथा फोन पे जस्ता माध्यम प्रयोग गरेर रकम ओसारपसार गर्दै स्रोत लुकाउने प्रयास गरेको आरोप छ ।
यस प्रकरणमा प्रहरीले गुप्तासँग रु १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बिगो दाबी गरेको छ भने कुल बिगो रु २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको जनाएको छ । पक्राउका क्रममा प्रहरीले गुप्ताबाट रु ३३ लाख ५९ हजार २५५ नगद जफत गरेको थियो ।
अदालतको आदेशसँगै गुप्तालाई अब मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।










